माघ १३
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्यसमितिको पाँचौं पूर्ण बैठक म्याग्दी सदरमुकाम बेनीमा बस्ने भएको छ । महासंघले मङ्गलबार बेनीमा पत्रकार सम्मेलन गरी माघ १४ गते अर्थात् भोलि बुधबार बैठकको आयोजना गरिएको जानकारी गराएको हो ।
राष्ट्रिय अपाङ्ग महासंघ, संघीय कार्यसमितिका अध्यक्ष मित्रलाल शर्माले नयाँ परिस्थितिमा महासंघले काठमाडौं उपत्यकाबाहिर बैठक आयोजना गर्न थालेको जानकारी दिए । “बुधबारको बैठकका लागि आवश्यक सबै तयारी पूरा भएको छ,” अध्यक्ष शर्माले भने, “भोलिको बैठकमा महासंघका ३८ जना पदाधिकारी र सदस्यहरु, सातओटै प्रदेशका प्रदेश अध्यक्ष लगायत ४० जिल्लाका प्रतिनिधिहरु सामेल हुनुहुनेछ ।” बैठकमा सहभागी हुन अधिकांश सहभागीहरु बेनी आइपुगेको पनि पत्रकार भेटघाटमा जानकारी गराइएको थियो ।
पत्रकार भेटघाटको सहजीकरण गरेका महासंघका महासचिव राजु बस्नेतले उपत्यकामा मात्रै खुम्चिनुभन्दा बैठकलाई पनि विकेन्द्रित गर्ने योजना अनुसार ‘बेनी बैठक’ आयोजना गरिएको बताएका थिए ।
“बुधबारको बैठक विशेषगरी पाँचओटा एजेन्डामा केन्द्रित हुन्छ,” महासचिव बस्नेतले भने, “अपाङ्गता भएका व्यक्तिहरुका लागि बनेका नीतिगत व्यवस्थाहरु र तिनको कार्यान्वयनलगायतका सवालमा गम्भीर छलफल र समीक्षा गर्छौं ।”
२०६८ सालको जनगणना अनुसार नेपालमा ५ लाख १३ हजार ३ सय २१ जना व्यक्तिहरु अपाङ्ग रहेको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।
पत्रकार भेटघाटमा बोल्दै महासंघका कोषाध्यक्ष केपी अधिकारीले अपाङ्गता भएको भन्ने कुरा पहिचान गर्ने कुरा नै मुख्य चासोको विषय रहेको धारणा राखेका थिए । “हाम्रो समजमा देख्न, सुन्न र बोल्न नसक्ने मान्छेलाई मात्रै अपाङ्ग मान्ने चलन छ,” म्याग्दीको मङ्गला गाउँपालिका–२, सिमलचौरका स्थानीय समेत रहेका अधिकारीले भने, “मनोसामाजिक समस्याबाट गुज्रिरहेका, बौद्धिक अपाङ्गता भएका व्यक्ति पनि यसको दायरामा आउँछन्, तर तिनको पहिचान कसरी गर्ने भन्ने समस्या छ ।”
कार्यक्रममा महासंघका सचिव भावुकजङ्ग थापा, केन्द्रीय सचिवालय सदस्य सुरेन्द्र केसीलगायतले बोलेका थिए ।
वि.सं. २०५३ सालमा स्थापना भएको राष्ट्रिय अपाङ्ग महासंघले अपाङ्गता भएका व्यक्तिहरुको हकहित र अधिकार संरक्षणका लागि लागि काम गर्दै आएको छ ।