बेनी
माघ १८
महिला उद्यम विकास समिति, म्याग्दीको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले लक्ष्मी भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति छनोट गरेको छ । म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा आइतबार सम्पन्न अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा अम्बिका श्रेष्ठ, प्रथम उपाध्यक्षमा विष्णु गरुङ, द्वितीय उपाध्यक्षमा सृजना भट्टचन, महासचिवमा जानकी विश्वकर्मा, कोषाध्यक्षमा दिलु घताने, सचिवमा प्रमिला श्रेष्ठ, सहसचिवमा गिता शर्मा र सहकोषाध्यक्षमा राधिका सापकोटा निर्वाचित भएका हुन् ।
साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिका उपप्रमुख सन्जु बरुवालले महिलाको समग्र विकासको लागि महिलाहरुलाई आर्थिक बजारसँग जोड्नुपर्ने धारणा राखेकी थिइन् । “महिलाहरुलाई आयआर्जनसँग नजोडी महिला मुक्तिका कुरा गर्नु उपयुक्त हुँदैन,” उपमेयर बरुवालले भनिन्, “अहिले भैरहेका र नयाँ कार्यक्रममार्फत् महिला दिदीबहिनीहरुको उद्यमशीलता विकास गर्नु अहिलेको आवश्यकता हो ।”
कार्यक्रममा उघोग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलगायतले बोलेका थिए ।
समितिको अध्यक्ष सुनिता केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव विष्णुकुमारी गुरुङले गरेकी थिइन् ।
म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यम विकास समिति क्रियाशील रहँदै आएको छ । महिलाहरुको आयआर्जन, क्षमतावृद्धि र संस्कृति संरक्षणमा समितिले काम गर्दै आएको छ ।