बेनी
पुुस २१
प्रचण्ड–नेपाल पक्षधर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले अगुवा कार्यकर्ता भेलालाई तिब्रता दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक किसिमले संसद विघटन गरेको आरोप लगाउँदै आन्दोलनमा उत्रिएको नेकपाले दोस्रो चरणअन्तर्गत स्थानीय तहमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गरिरहेको छ ।
आन्दोलनको पहिलो चरणमा जिल्ला सदरमुकाम बेनीमा कार्यकर्ता उतारेर प्रदर्शन र विरोध सभा गरेको प्रचण्ड नेपाल समूहले दोस्रो चरणमा स्थानीय अभियान अन्तर्गत मङ्गला, मालिका र धवलागिरि गाउँपलिकामा भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ । नेकपा म्याग्दी, बेनी नगर कमिटीका कार्यालय सदस्य ज्ञानेन्द्र सुवेदीले अभियानअन्तर्गत सोमबार बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएको जानकारी दिए ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले केपी ओलीको असंवैधानिक कदमले देशमा राजनीतिक सङ्कट निम्त्याउन खोजेको बताउँदै प्रतिगामी कदमको सशक्त प्रतिरोध गर्न कार्यकर्ताहरुलाई आग्रह गरे । सत्ताको लाभ लिएका मानिसमात्रै ओलीको पक्षमा लागेको बताउँदै अध्यक्ष पौडेलले दुई तिहाइ बहुमतबाट निर्वाचित प्रधानमन्त्रीले संसद भंग गर्नु संविधानविपरीत र अलोकतान्त्रिक कदम भएको धारणा राखेका थिए ।
भेलालाई सम्बोधन गर्दै नेकपा गण्डकी प्रदेश कमिटी सदस्य मुना बानियाँ, जिल्ला कार्यालय सदस्य बालकृष्ण सुवेदी र जिल्ला सदस्य कृष्णकुमार विश्वकर्माले प्रधानमन्त्रीको कदमले मुलुकलाई प्रतिगमनको बाटोमा लगेको विचार व्यक्त गरेका थिए । मुलुकलाई सङ्कटबाट बाहिर निकाल्न संसद पुनस्र्थापनाको विकल्प नभएको उनीहरुको भनाइ थियो ।
नेकपा, बेनी नगरपालिकाका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता, जिल्ला सदस्य ज्योति लामिछानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन नगर कमिटीका कार्यालय सदस्य ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।