बेनी
पुस २९
सरकारले सवारी चालक अनुमति पत्र जारी गर्दा शतप्रतिशत अङ्क ल्याउनुपर्ने नियम परिवर्तन गर्न लागेको छ । अवैध लेनदेनमार्फत् चालक अनुमति पत्र लिने विकृति बढेपछि लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाको ढाँचा परिवर्तन हुन लागेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको ढाँचा परिवर्तन गर्ने सहमति भएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले ६० प्रतिशत नम्बर ल्याए पास हुने गरी ट्रायल (प्रयोगात्मक) परीक्षाको ढाँचा परिवर्तन गर्न लागिएको जानकारी दिए । अर्थात् ट्रायलमा ४० प्रतिशत गल्ती गर्ने पनि नयाँ नियमअनुसार पास हुनेछन् । अहिले विद्यमान नियमअनुसार पास हुनका लागि शतप्रतिशत अङ्क ल्याउनुपर्छ ।
हमालका अनुसार मूल्याङ्कन गर्दा विभिन्न पक्षलाई आधार मानेर अङ्क दिइनेछ । ट्राफिक लाइट, उकालो–ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतका पक्षलाई आधार मानेर तिनीहरुका लागि अलगअलग अङ्कभार छुट्याइनेछ । जसबाट ६० अङ्क ल्याउने व्यक्ति पास हुनेछ ।
अहिलेको व्यवस्थाअनुसार ट्रायलमा एउटा गल्ती गर्नेबित्तिकै प्रशिक्षार्थी फेल हुन्छ । यसले गर्दा धेरैले लाइसेन्स नपाउने अवस्था छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीले शत प्रतिशत अङ्क ल्याउन नसक्ने अवस्थामा आर्थिक लेनदेनको बाटो प्रयोग गरी लाइसेन्स लिने विकृति बढेपछि नयाँ नियम लागू गर्न थालिएको हो “जसलाई पनि लाइसेन्स दिनुभन्दा ६० अङ्क ल्याउनेलाई दिनु धेरै राम्रो हुने देखिएपछि नयाँ नियम लागू गर्न लागिएको हो,” ती अधिकारीले भने । यसबाट यातायातमा हुने लेनदेनमा पनि कमी आउने उनको भनाइ थियो ।
यो फेरिएको ट्रायल परीक्षा छिट्टै लागू हुने बताइएको छ । विभाग, ट्रायल सेन्टरहरुले तयारी गरिसकेपछि नयाँ ढाँचा अनुसार ट्रायल परीक्षा लागू गर्ने तयारी भैरहेको रहेको हमालले बताए ।