बेनी
माघ ३
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका निर्मल पुर्जाले हिमाल आरोहणमा नयाँ इतिहास कायम गरेका छन् । पाकिस्तान र चीनको सीमामा पर्ने विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालको सफल आरोहणसँगै पूर्जासहितको दश सदस्यीय नेपाली आरोही दलले उक्त इतिहास कायम गरेको हो ।
![]() |
तस्वीरः आरोही निर्मल पुर्जाको इन्स्ट्राग्रामबाट |
सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) मा मानव पाइला पुगेको ६७ वर्षयता हिउँदयाममा सयौं आरोहण दलले प्रयास गर्दा पनि कोही सफल भएको थिएन । तर, यसपटक पुर्जासहित १० नेपाली आरोहीले हिउँदयाममा अत्यधिक कठिन मानिने सगरमाथापछिको दोस्रो अग्लो चुचुरोमा पुगेर रेकर्ड बनाएका हुन् ।
काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्धक थानेश्वर गुरागाईंले शनिबार नेपाली समय अनुसार सवा ४ बजे नेपाली आरोहीहरुको टोली चुचुरोमा पुगेको जानकारी दिएका छन् । गुरागाईंका अनुसार सफल आरोहण गर्नेमा पुर्जासहित मिङ्मा डेबिट शेर्पा, मिङ्मा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, दावा तेन्जी शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन् ।
केटू हिमाल आरोहणको नेतृत्व गरिरहेका आरोही निर्मल पूर्जाले भनेका छन्, “असम्भवलाई सम्भव बनाइयो,” प्रख्यात आरोही पुर्जाले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, “मानव जातिका लागि इतिहास बनाइयो । नेपालका लागि इतिहास बन्यो ।” यो हिमाल आरोहणका लागि पुर्जासहित १० नेपाली करिब १ महिनाअघि काठमाडौंबाट पाकिस्तान पुगेका थिए ।
![]() |
फाइल तस्वीर |
पुर्जाका अनुसार, नेपाली टोलीले चुचुरोमा १० मिनेट समय बिताएको थियो । उनले यसलाई विशेष पल भन्दै त्यहाँ नेपालको राष्ट्रिय गीत गाएको इन्स्टामा उल्लेख गरेका छन् । उनले सामूहिकता तथा सकारात्मक सोचका कारण यो सफलता हात लागेको पनि लेखेका छन् ।
उत्तरी म्याग्दीको दानामा ३७ वर्षअघि जन्मेका पुर्जाले गत वर्ष ७ महिनाको अवधिमा सगरमाथासहित विश्वका सबैभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।
अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा पर्ने अन्नपूर्ण हिमाल आरोहण गर्दै आफ्नो ‘प्रोजेक्ट पोसिबल’ अभियान शुरु गरेका पुर्जाले ०७६ कात्तिकमा तिब्बतको सिसापाङमा हिमाल आरोहण गर्दै ७ महिनामा ८ हजार अग्ला विश्वका १४ वटा अग्ला चुचुरो आरोहण गरेका थिए ।
बेलायती सेनाको स्पेसल फोर्समा कार्यरत पुर्जा मासिक १४ लाख हाराहारीको जागिरे जीवन छाडेर गत वर्षदेखि आरोहणमा लागेका छन् ।