बेनी
पुस २७
अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण शुरु भएको छ । आयोजनाको परामर्शदाता इन्जिनियर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत्गृहमा एकसाथ परीक्षण भइरहेको जानकारी दिएका छन् । माउन्टेन इनर्जी नेपाल, लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको संरचना तथा जडान गरिएका उपकरणको परीक्षण शुरु भएको हो ।
![]() |
पानी थिग्राउने पोखरी (क्यानल)को यसअघि नै सफल परीक्षण भैसकेको जानकारी दिँदै इन्जिनियर खड्काले सुरुङ, पेनस्टक पाइप, जेनेरेटर, टर्बाइन र ट्रान्सफर्मरको समेत परीक्षण भइरहेको बताए । आयोजनाको हाइड्रोमेकानिकल समूहले विद्युत्को अटोमेसनसम्बन्धी परीक्षण गरिरहेको उनको भनाइ छ ।
आयोजनाका प्रतिनिधी चुडामणि निरौलाका अनुसार पूर्वनिर्धारित योजनाअनुसार काम भए अबको तीन साताभित्र विद्युत्को परीक्षण उत्पादन शुरु हुनेछ ।
पाँच अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना सन् २०१६ को जुन १३ मा शुरु भएको थियो ।
आयोजनाले नारच्याङको बेँसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सबस्टेशनसम्म १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइन निर्माण गरिसकेको छ ।
आयोजनाका लागि प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैङ्क, नेपाल जलविद्युत विकास कम्पनी, नबिल बैंक, लक्ष्मी बैंक र एस डेभलभमेन्ट बैंकले ऋण लगानी गरेका छन् ।
तस्वीरः सन्तोष गौतम
