बेनी
पुस २५
एकाबिहानै सडकमा हिँड्ने बटुवालाई कहिलेकाहीँ भुस्याहा कुकुरले आक्रमण गरेका घटना सदरमुकाम बेनीबासीका लागि नौलो घटना होइन । विद्यालय जाँदै गरेका हुन् वा बिहानी हिँडाइ (मर्निङ वाक) का कतिपय सहभागीलाई भुस्याहा कुकुरले आक्रमण गर्ने गरेका घटना सुनिँदै, देखिँदै आएका छन् । यसबाहेक भुस्याहा कुकुरको अनियन्त्रित प्रजनन थप समस्या बन्दै गएको छ ।
यीलगायत अन्य समस्या सम्बोधन गर्न बेनी नगरपालिकाको कार्यालय, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दी र केन्द्रीय रिफरल पशु चिकित्सालयले संयुक्तरुपमा बन्ध्याकरण शिविर आयोजना गरेका छन् । छाडा कुकुरले सडकमा हिँड्न निकै असहज भएको जनगुनासो बढेपछि भुस्याहा कुकुरको संख्या घटाउने उद्देश्यले विज्ञ केन्द्रको आयोजना र पशु चिकित्सालयको प्राविधिक सहयोगमा बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।
शनिबार बेनीमा शुरु भएको शिविर आइतबारसम्म जारी रहने केन्द्रीय रिफरल पशु चिकित्सालय, काठमाडौंका पशु चिकित्सक खितबहादुर श्रेष्ठले जानकारी दिएका छन्।
भुस्याहा कुकुरले वर्षको दुईपटक बच्चा जन्माउने र तिनको उचित रेखदेख नहुँदा बेनी बजार र आसपासको क्षेत्रमा कुकुरको संख्या बढ्दै गएको थियो । भुस्याहा कुकुरको नियन्त्रणका लागि सामूहिक कुकुर बन्ध्याकरणबाट कुकुरको संख्या घटाउने र रेविज रोगलाई नियन्त्रण गर्न खोप लगाउने कार्यक्रम आयोजना गरिएको पशुसेवा केन्द्र, म्याग्दीले जानकारी दिएको छ ।
दुई दिने शिविरबाट एकसय भन्दा बढी संख्यामा छाडा र घरपालुवा कुकुरको बन्ध्याकरण र रेविज खोप लगायतको उपचार गरिने केन्द्र प्रमुख डाक्टर ईन्द्रबहादुर भट्टले जानकारी दिए ।
भुस्याहा कुकुरको बन्ध्याकरणका लागि काठमाडौंदेखि एम्बुलेन्सहित ९ जनाको प्राविधक टोली बेनी आएको छ । बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने शिविरमा आफ्नो घरमा पालिएका कुकुर ल्याउन बेनी नगरपालिकाले कुकुरधनीहरुलाई सार्वजनिक रुपमा अनुरोध गरेको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा भुस्याहा कुकुरको संख्या न्यूनीकरण गरी सन् २०३० सम्म रेविजमुक्त गराउने उद्देश्यसहित खोप लगाउने कार्यलाई तिव्रता दिइएको आयोजकले जनाएको छ ।

