Notification

×

Iklan

Iklan

म्याग्दी क्याम्पस पढ्न अब प्रवेश परीक्षा दिनुपर्ने

Monday, February 22, 2021 | February 22, 2021 WIB Last Updated 2021-12-30T03:23:50Z

 बेनी

फागुन १०





म्याग्दी सदरमुकाम बेनीको फुलबारीमा अवस्थित म्याग्दी बहुमुखी क्याम्पसले स्नातक तहमा विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षा दिनुपर्ने नयाँ व्यवस्था गर्ने भएको छ । सोमबार क्याम्पसमा आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी गराइएको हो ।


विश्वविद्यालय अनुदान आयोग, नेपालबाट गत वर्ष गुणस्तर प्रत्यायन सुनिश्चितता (क्युएए) प्राप्त गरेको क्याम्पसले स्नातक तहमा भर्ना हुने विद्यार्थीका लागि प्रवेश परीक्षा सञ्चालन गर्न लागेको हो । यही फागुन १८ गते बिहान पहिलो चरणको प्रवेश परीक्षा सञ्चालन हुने जानकारी गराउँदै क्याम्पस प्रमुख गोरखबहादुर जिसीले नयाँ निर्णयले क्याम्पसको गुणस्तर वृद्धिमा सघाउने अपेक्षा सुनाएका थिए ।





“यस वर्षदेखि हामीले विद्यार्थी भर्नामा नयाँ अभ्यास शुरु गर्न लागेका छौं,” पत्रकारसामु बोल्दै क्याम्पस प्रमुख जिसीले भने, “अन्य क्षेत्रको सुधारसँगै प्रवेश परीक्षामार्फत् विद्यार्थी भर्नालाई थप व्यवस्थित गर्न खोजेका हौं ।” विद्यार्थीको क्षमता पहिचान, रुचि र क्षमताअनुकूल विषयको छनोट तथा बीचैमा पढाइ छाड्ने समस्या घटाउन पनि प्रवेश परीक्षा लिने व्यवस्था शुरु भएको क्याम्पस प्रशासनको भनाइ छ ।


सोही कार्यक्रममा बोल्दै म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले क्याम्पसको गुणस्तर सुनिश्चितता गर्ने अभियान अन्तर्गत प्रवेश परीक्षाको व्यस्था शुरु हुन लागेको बताए । “यो शैक्षिक कार्यक्रम नै हो,” सुवेदीले भने, “क्याम्पसको रणनीतिक उद्देश्य प्राप्त गर्न प्रवेश परीक्षाको व्यवस्थाले सहयोग पुग्ने विश्वास छ । ”

 



क्याम्पसको पूर्वाधार विकासलाई दीगो, व्यवस्थित र प्रभावकारी बनाउन गुरुयोजना निर्माणको काम अघि बढेको जानकारी गराउँदै अध्यक्ष सुवेदीले शैक्षिक सुधारका कार्यक्रमअन्तर्गत शिक्षक र कर्मचारीको स्वमूल्याङ्कन, आन्तरिक परीक्षा, कर्मचारीलाई सफ्टवेयर तालिम र अनुसन्धान संस्कृतिको थालनी भएको बताए ।



क्याम्पसका सहायक प्रमुख श्रीधर सुवेदीले स्नातक र स्नातकोत्तर तहका लागि विभिन्न विषयमा सम्बन्धनका लागि माग भएको जानकारी दिए । सहायक प्रमुख सुवेदीका अनुसार क्याम्पसले स्नातक तहमा बिबिए र बिएसडब्ल्यु कार्यक्रमका साथै स्नातकोत्तर तहमा नेपाली, अङ्ग्रेजी, समाजशास्त्र र इपिएम विषय सञचालन गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरेको छ ।





कक्षा ११ देखि स्नातकोत्तर तहसम्म कुल १ हजार ५१ जनाले अध्ययन गरिरहेको म्याग्दी बुहुमुखी क्याम्पसमा यस वर्षदेखि स्नातक तहको व्यवस्थापन सङ्कायमा नेपाली र अङ्ग्रेजी दुबै माध्यमबाट पढाइ शुरु हुन लागेको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।



कक्षा १२ सम्म व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायको पढाइ हुने म्याग्दी क्याम्पसमा स्नातक तहमा शिक्षाशास्त्र, व्यवस्थापन र मानवीकि तथा स्नातकोत्तर तहमा व्यवस्थापन सङ्कायको पठनपाठन हुने गरेको छ ।




×
Berita Terbaru Update