बेनी
माघ २५
विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वाकांक्षाका कारण अहिलेको सङ्कट सिर्जना भएको बताएका छन् । आइतबार बेनीमा आयोजित प्रचण्ड–नेपाल निकट जनवर्गीय सङ्गठनहरुको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो धारणा राखेका हुन् । “प्रधानमन्त्रीमा पलाएको महत्वाकांक्षा नै अहिलेको समस्याको जड कारण हो,” नेता पौडेलले भने, “नीति, विधि र कार्यशैली नसुधार्दा अहिलेको अवस्था आयो ।”
सरकारबाट भएका विवादित विषयमा समेत पार्टीले प्रधानमन्त्रीलाई साथ दिएको बताउँदै नेता पौडेलले पार्टी र सरकार सञ्चालनको विषयमा पार्टीभित्र छलफललाई कुनै ठाउँ नरहेको स्मरण गरे । प्रधानमन्त्रीले सनकको भरमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाउँदै नेता पौडेलले निर्वाचन गर्ने विषयलाई सरकारी पक्षको ‘नाटक’को संज्ञा दिएका थिए । “दुई वर्ष अवधि बाँकी रहेको प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको कुरा गर्नु नाटक हो,” नेता पौडेलले भने, “यथार्थ के हो भन्ने जनताले थाहा पाइसकेका छन् ।”
सोही सभालाई सम्बोधन गर्दै नेकपाका अर्का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्रीले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत राज्यका संवैधानिक अङ्गहरुलाई कार्यकर्ता भर्ती केन्द्रका रुपमा बदल्न खोजेको आरोप लगाएकी छिन् । “राज्यका संवैधानिक अङ्गलाई गुटका कार्यकर्ता भर्ती गर्ने केन्द्रका रुपमा विकास गर्न खोजिएको छ,” नेता झाँक्रीले भनिन्, “अब प्रधानमन्धत्रीको सेटिङ भत्किन थालेको छ, धेरै समय टिक्दैन ।” कुनै नेताको सनक वा आवेगको साक्षी अदालत नबस्ने अपेक्षा सुनाउँदै नेता झाँक्रीले जनसाधारणको विश्वास कायमै राख्न न्यायालयलाई आग्रह गरिन् ।
भेलालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदी र प्रदेश कमिटी सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले लोकतान्त्रिक आचरणविरुद्धको ओली कदमको पछि नलाग्न म्याग्दीका नेता–कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।
प्रतिनिधिसभा विघटनको विरोध र संसद पुनस्र्थापनाको माग गर्दै विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले आइतबार म्याग्दीमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम शुरु हुनुपूर्व विभिन्न नाराबाजीसहितको र्यालीले बेनी बजार परिक्रमा गरेको थियो ।
राष्ट्रिय यूवा संघका केन्द्रीय सदस्य कृष्णकुमार विश्वकर्माको अध्यक्षता रहेको विरोध सभामा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेललगायतले मन्तव्य राखेका थिए ।