Notification

×

Iklan

Iklan

बेनी खानेपानी संस्थाको अध्यक्षमा रेग्मी

Friday, February 5, 2021 | February 05, 2021 WIB Last Updated 2021-12-30T03:24:07Z

बेनी

माघ २४





म्याग्दी सदरमुकाम बेनी र आसपासको क्षेत्रमा खानेपानी व्यवस्थापन गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता  संस्थाको अध्यक्षमा माधवप्रसाद रेग्मी छनोट भएका छन् । संस्थाको शुक्रबार सम्पन्न २१औ वार्षिक साधारणसभा तथा १०औ अधिवेशनले रेग्मीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।



सर्वसम्मतरुपमा गठन गरिएको सञ्चालक समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः रमेश गिरी, राजेन्द्रकुमार श्रेष्ठ र टङ्क हमाल रहेका छन् । सदस्यहरूमा यजनलाल शाक्य, डिलकुमारी पुर्जा, सिर्जना श्रेष्ठ, पुष्पा थापा र सुदर्शनकुमार श्रेष्ठ छनोट भएका छन् ।




साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बेनी बजारबासीलाई सहजरुपमा शुद्ध खानेपानी  उपलब्ध गराउन संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको धारणा राखे । “आगामी दिनमा पनि संस्थालाई थप व्यवस्थित बनाउन आवश्यक छ,” मेयर श्रेष्ठले भने, “यसमा नगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहनेछ ।”



कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका उपाध्यक्ष खेमराज ओली, नेकपा म्याग्दीका नेता शेरबहादुर केसी, काँग्रेस म्याग्दीका सचिव क्याप्टेन मिनबहादुर कार्की, जिल्ला समन्वय अधिकारी आकांक्षा रिजाल, बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, पर्वत बेनी खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मी, गलेश्वरधाम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बमबहादुर पुन, उपभोक्ता हिमबहादुर भण्डारी, अमृतदेवी बानियाँ लगायतले मन्तव्य शुभकामना मन्तव्य राखेका थिए ।





आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रममा संस्थाले बेनी नगरपालिकाको ७ र ८ वार्डको बेनीबजार र वार्ड नम्बर २ को हाँडेभिर क्षेत्रमा गरी १ हजार ६७ घरधुरीका करिब २० हजार जनसंख्यालाई खानेपानी आपूर्ति गर्दै आएको जानकारी गराइएको थियो । 



कार्यक्रममा संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले संस्थाको हालसम्म भएको प्रगतिका बारेमा, सचिव रमेश गिरीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष टङ्क हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


 खानेपानीको महशूल बढ्यो 


 शुक्रबार सम्पन्न संस्थाको २१औ वार्षिक साधारणसभाले खानेपानीको न्यूनतम महशुल शूल्क बढाएको छ । विगतमा प्रतिमहिना न्यूनतम १० युनिट पानी खपत गर्ने उपभोक्ताले २०० रुपैयाँ शूल्क तिर्ने गरेकोमा नयाँ दररेट अनुसार अब न्युनतम २२० रुपैयाँ तिर्नुपर्नेछ ।



संशोधित शूल्क अनुसार ११ देखि २० युनिटसम्म प्रतियुनिट २४ रुपैयाँ, २१ देखि ३० युनिटसम्म प्रतियुनिट २६ रुपैयाँ, ३१ देखि ४० युनिटसम्म प्रतियुनिट २८ रुपैयाँ, ४१ देखि ५० युनिटसम्म प्रतियुनिट ३० रुपैयाँ र ५१ युनिटदेखि माथि प्रतियुनिट ३२ रुपैयाँका दरले शूल्क निर्धारण भएको कार्यालयका प्रबन्धक यामबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।



×
Berita Terbaru Update