बेनी
माघ २१
विभाजित नेकपाको माधव नेपाल–प्रचण्ड पक्षले भोलि देशव्यापी आमहड्तालको घोषणा गरेको छ । संवैधानिक निकायमा पदाधिकारीहरूलाई नियुक्त तथा शपथ गराएको विरोधमा आमहड्ताल गर्ने निर्णय गरेको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।
आकस्मिक रूपमा सार्वजनिक गरिएको संघर्षको नयाँ कार्यक्रमअनुसार आज साँझ देशभर मसाल जुलुस र बिहीबार आमहड्ताल तय गरिएको उल्लेख छ । संघर्षका कार्यक्रम सार्वजनिक गर्दै समितिका संयोजक नारायणकाजी श्रेष्ठले आमहड्ताल आफूहरूको बाध्यता भएको बताएका छन् ।
देशव्यापी आह्वान गरिने आमहड्तालमा यातायात, उद्योग व्यवसाय, कलकारखाना र शैक्षिक क्षेत्रलगायत बन्द हुने जानकारी दिँदै श्रेष्ठले अत्यावश्यक सेवामा भने कुनै रोक नलगाउने जानकारी दिए ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेकपाको माधव–प्रचण्ड पक्ष आन्दोलनमा छ ।