बेनी
माघ २७
म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षको संशोधित बजेट पारित गरेको छ । सोमबार बेनीमा सम्पन्न आठौं नगरसभाले चालु आ.व. २०७७/०७८ को संशोधित बजेट पारित गरेको बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिए।
गएको असार १८ गते सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्षको लागि कुल ६२ करोड ३२ लाख ५८ हजार २६४ रुपैयाँको बजेट पारित गरेकोमा सोमबारको नगरसभाले ६६ करोड सात लाख ४६ हजार ४४२ रुपैयाँको संशोधित बजेट पारित गरेको हो ।
बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालका अनुसार संशोधित बजेटका लागि अपुग रकममध्ये नगरपालिकाको सञ्चित कोषमा जम्मा भएको रकममध्ये विभिन्न योजनाका लागि दुई करोड ७८ लाख ८८ हजार ४७० रुपैयाँ विनियोजन गर्ने कार्यपालिकाको बैठकको निर्णयलाई नगरसभाले अनुमोदन गरेको हो ।
सभाले नगरपालिकाको विभिन्न योजनाका लागि एक करोड ९० लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये ८ नम्बर वडाको वडा कार्यालय सञ्चालन एवं क्याम्पसचोकको बाढी व्यवस्थापन अन्तर्गत घरजग्गा अधिग्रहणका लागि ७२ लाख ७३ हजार रुपैयाँ छुट्ट्याइएको छ ।
नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख हरिकुमार श्रेष्ठले कोरोना नियन्त्रण र व्यवस्थापनसँगै वडा नम्बर ८ स्थित क्याम्पसचोकको बाढी व्यवस्थापन, बहुउद्देश्यीय मैदानमा बसपार्क सञ्चालन लगायतका विकास आयोजनाको कार्यान्वयनमा जोड दिइएको जानकारी दिए ।
चालु आर्थिक वर्षमा चार सय ५ ओटा कार्यक्रमलाई बजेट विनियोजन भएकोमा त्यसमध्ये अहिलेसम्म १६२ वटाको सम्झौता र ३५ वटा योजनालाई भुक्तानी समेत गरिएको नगरप्रमुख श्रेष्ठको भनाइ थियो ।