बेनी
माघ २२
आगामी एक महिनाभित्र नेपालले २२ लाख ५६ हजार डोज खोप प्राप्त गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत नेपालले उक्त परिमाणको खोप प्राप्त गर्ने भएको हो । डब्लुएचओले प्रकाशित गरेको विवरणमा यो विषय उल्लेख गरिएको छ । डब्लुएचओले जारी गरेको प्रक्षेपण अनुसार फेब्रुअरी महिनाको अन्त्यसम्म नेपालले खोप प्राप्त गर्ने उल्लेख छ ।
कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप प्राप्त गर्ने भएको हो ।
नेपालले उक्त खोपलाई आपतकालीन प्रयोगमा ल्याएको एक सातापछि विश्व स्वास्थ्य सङ्गठनले यस्तो घोषणा गरेको हो । नेपालको औषधी व्यवस्था विभागले कोभिसिल्ड खोपलाई मात्र आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । राष्ट्र संघले उपलब्ध गराउने उक्त खोपबाट नेपालको कूल जनसंख्याको ३.३ प्रतिशत (१ करोड) लाई पुग्ने जनाइएको छ ।
नेपालले ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ । १८ वर्षभन्दा माथिल्लो उमेरकाले मात्र यो खोप लगाउन पाउनेछन् ।
कोरोनाबाट अहिलेसम्म नेपालमा २ लाख ७१ हजार ४३१ जना सङ्क्रमित भएका छन् भने मृतकको संख्या २ हजार ३१ पुगेको छ ।