Notification

×

Iklan

Iklan

स्थानीय सरकारले जिम्मेवारी पूरा गरेनन्ः नेता गुरुङ

Monday, March 8, 2021 | March 08, 2021 WIB Last Updated 2021-12-30T03:23:37Z

 बेनी 

फागुन २४





नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले संविधानले दिएको शिक्षासम्बन्धी अधिकार प्रयोग गर्नबाट स्थानीय सरकारहरु चुकेको बताएका छन् । सोमबार नेपाल शिक्षक संघ, म्याग्दीको प्रतिनिधि सभाको बेनीमा उद्घाटन गर्दै नेता गुरुङले यस्तो धारणा व्यक्त गरेका हुन् । स्थानीय सरकारलाई जिम्मेवार बनाउने गरी संविधानले माध्यमिक तहसम्मको अधिकार सुम्पिएको भए पनि सोअनुसार काम नभएको गुरुङले टिप्पणी गरेका हुन् ।


“शिक्षकको नियुक्ति, सरुवा आदिमा स्थानीय सरकारले राजनीतिक प्रतिशोध र चिनेजानेकोलाई आधार बनाउनु चिन्ताजनक कुरा हो,” नेता गुरुङले भने, “यसले सामुदायिक विद्यालयको अवस्थालाई थप कमजोर बनाउँदै लग्ने निश्चित छ ।” 




माध्यमिक तहसम्मको शैक्षिक अधिकार स्थानीय सरकारलाई सुम्पिने काम गलत भएको तर्क गर्दै नेता गुरुङले संविधानमा भएको यस्तो व्यवस्था सच्याउन नेपाली कांग्रेसले पहल गर्ने पनि बताएका छन् । “आफन्तबाद र भनसुन चल्न थालेपछि क्षमता भएका व्यक्तिहरु भन्दा पनि राजनीतिक कार्यकर्ताहरु शिक्षक बन्न थालेको अवस्था देखिँदैछ,” बौद्धिक नेताको छवि बनाएका गुरुङले भने, “यसले गर्दा संविधानमा गरिएको व्यवस्था कतै गलत त थिएन भनेर सोच्ने बेला आएको छ ।”




देश विकासको पहिलो आधार शिक्षा भएको बताउँदै नेता गुरुङले सामुदायिक विद्यालयको सुधार गर्ने काम शिक्षक र कर्मचारीबाट शुरु गर्नुपर्ने विचार व्यक्त गरेका थिए । “यदि राष्ट्रसेवक कर्मचारी र शिक्षकले आफ्ना नानीबाबुलाई सामुदायिक विद्यालयमा पढाउन थाल्ने हो भने सरकारी विद्यालयमा देखिएका आधा समस्या समाधान हुन्छन्,” उनले भने, “आफुले सरकारी तलबभत्ता बुझेर छोराछोरीलाई बोर्डिङ स्कुलमा पठाउनु सामुदायिक विद्यालयको क्षमता खस्किनुको जडकारण हो । यसमा सुधार गर्नुको विकल्प छैन ।”


सामुदायिक विद्यालयहरुले पनि समय सुहाउँदो हुने गरी नेपाली र अङ्ग्रेजी दुबै माध्यममा पढाउने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउँदै गुरुङले शिक्षकहरुको सुविधा बढाएर भए पनि क्षमतावान् जनशक्ति नियुक्ति गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।




कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापति रेशमबहादुर बानियाँ, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भरतप्रसाद लम्साल, नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी, संघका गण्डकी प्रदेश अध्यक्ष किशोरमणि लामिछाने, नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव मिनबहादुर कार्कीलगायतले व्यावसायिक एवं प्रविधिमैत्री शिक्षाको आवश्यकतामा जोड दिएका थिए । 


नेपाल शिक्षक संघ म्याग्दीका सभापति दुर्गाराम सुवेदीको अध्यक्षता, उपाध्यक्ष नगेन्द्र खत्रीको स्वागत र सचिव गजेन्द्र श्रेष्ठको सञ्चालनमा सभा सम्पन्न भएको थियो ।



×
Berita Terbaru Update