बेनी
फागुन २२
म्याग्दीमा कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान भोलिदेखि शुरु हुने भएको छ । कोभिड–१९ विरुद्धको सरकारी अभियान अन्तर्गत म्याग्दीमा पनि आइतबारदेखि खोप लगाइने भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बेनी नगरपालिका, मङ्गला, मालिका र धवलागिरी गाउँपालिकामा आइतबारदेखि र रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा २६ गतेदेखि दोस्रो चरणको खोप अभियान शुरु हुने जानकारी दिएका छन् ।
“खोप सञ्चालनको आवश्यक तयारी पूरा भैसकेको छ,” स्वास्थ्य प्रमुख लम्सालले भने, “शुरुमा ६५ वर्षमाथिका झण्डै ९ हजार ज्येष्ठ नागरिकलाई खोप लगाउने व्यवस्था गरिनेछ ।”
स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार दोस्रो चरण अन्तर्गत ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, शिक्षक र सवारी साधनमा कार्यरत कर्मचारीलाई खोप लगाउने तयारी भैरहेको थियो । तर, फागुन तेस्रो सातासम्म नेपाल आउने भनिएको १० लाख डोज खोप नआएका कारण तत्कालका लागि ६५ वर्षमाथिकालाई मात्र खोपको व्यवस्था गरिएको लम्सालको भनाइ थियो ।
म्याग्दीका ४५ ओटा वडामा रहेका स्वास्थ्य चौकीसहित जम्मा ५४ ओटा ठाउँमा खोप लगाउने व्यवस्था गरिएको र अभियानका लागि एक सय जना स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको स्वास्थ्य प्रमुखको भनाइ छ ।
“सरकारको पुरानो प्राथमिकता यथावत् छ,” शनिबार सञ्चारकर्मीबीच बोल्दै लम्सालले भने, “कोरोना सङ्क्रमतिमध्ये ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको मृत्युदर बढी देखिएको आधारमा सरकारले यस्तो निर्णय लिएको हो ।” खोपको उपलब्धताका आधारमा क्रमशः सबैलाई खोपको व्यवस्था गरिने पनि उनले बताएका छन् ।
खोपका बारेमा अनावश्यक हल्ला हुने सम्भावना औंल्याउँदै स्वास्थ्य कार्यालयले पहिलो चरणको अभियानमा गलेश्वरको वृद्धाश्रम र जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई समेत खोप दिइएको तर कसैलाई पनि नराम्रो नभएको अभिलेख प्रस्तुत गरेको छ ।
दोस्रो चरण अन्तर्गत बाँकी रहेका नागरिकलाई चैत १५ गतेसम्म खोप उपलब्ध भैसक्ने जानकारी गराउँदै स्वास्थ्य कार्यालयले तोकिएको उमेर समुदायले खोप नलगाउँदा कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने जोखिमतर्फ पनि सर्वसाधारणलाई सचेत गराएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ, म्याग्दीका अध्यक्ष तारानाथ शर्मा र संस्थापक अध्यक्ष घनश्याम खड्काले कोरोना खोपबारेका अनावश्यक हल्ला न्यूनीकरण गर्न र हातको सरसफाई, भौतिक दूरी कायम गर्ने र अनिवार्यरुपमा मास्क लगाउने कुरामा सबैले ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।