बेनी
फागुन २४
आज मार्च ८ । १११औं अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर जस्तै नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।
‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ नेपालमा पनि आज महिला दिवस मनाइँदै छ । दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेऊ’ भन्ने तय गरिएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवस भनिए पनि यसलाई श्रमिक महिला दिवसका रुपमा मनाउनु पर्ने तर्क गरिन्छ । महिलावादी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर दिवस मनाउने प्रचलन रहेकोले पनि यसलाई श्रमिक महिलाको दिवसका रुपमा लिनु पर्ने तर्क अभियन्ताहरुको छ ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ ।
महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।
