बेनी
फागुन २५
नेकपा एमालेका सचिव बालकृष्ण सुवेदीले पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्ने बताएका छन् । गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि प्रचण्ड र माधव नेपाल पक्षतर्फ सहभागी भई आन्दोलित बनेका सुवेदीले नयाँ परिस्थितिमा नेकपा एमालेभित्रै रही गलत प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निर्णय लिएका हुन् ।
मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सचिव सुवेदीले पार्टी एकता भए पनि कार्यकर्ताबीच सहअस्तित्वको कमी, गुटबन्दी र नेतृत्वको स्वेच्छाचारिता हावी हुँदा पार्टीभित्रैबाट प्रतिनिधि सभा विघटन गर्नेजस्तो अलोकतान्त्रिक काम भएको उल्लेख गरेका छन् ।
२०७५ जेठ ३ गतेदेखि २०७७ पुस ५ गतेसम्म सबै सिङ्गो नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता रहेको, पुस ५ पछिको परिस्थितिमा पार्टीमा विवाद हुँदा दुई पक्षमा रहेर समर्थन र विरोध गर्ने स्थिति बनेको र सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको कार्यकर्तामा फेरिएको सन्दर्भ उल्लेख गरिएको छ ।
प्रतिनिधि सभा विघटनका विरुद्धको आन्दोलनमा सहभागी हुन पाएको गौरव महशुस भएको चर्चा गर्दै सचिव सुवेदी नयाँ परिस्थितिमा नेकपा एमालेभित्रै रहेर विधि र पद्धतिका पक्षमा लडिरहने प्रतिबद्धता जनाएका छन् ।