बेनी
चैत २६
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् । बुधबार राति अबेर गरिएको मतपरिणामको घोषणाअनुसार अध्यक्षमा पौडेल निर्वाचित भएका हुन् ।
निर्वाचनबाट पौडेलले ३० मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी ठाकुरप्रसाद आचार्यले २७ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक प्रेमबहादुर कार्की (दिपक बिखर्ची)ले जानकारी दिएका छन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार उपाध्यक्षमा हरिकृष्ण गौतम, महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री (मालती), सचिवमा सन्तोष गौतम, सहसचिमा प्रमोद शर्मा र साधन रामजाली (समावेशी) निर्वाँचित भएका छन् ।
छैटौं अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट खुल्ला सदस्यमा अमृत बास्कुने, सन्दिप शर्मा रिजाल, कमल खत्री, कृष्णबहादुर जिसी र सन्दिप खत्री छानिएका छन् भने समावेशीतर्फ नजराना सिंह ठकुरीले जित हात पारेकी छिन् ।
शाखाको सदस्य पदमा जेनिसा पुरी (महिला) र सुदर्शनकुमार श्रेष्ठ (जनजाति) यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
निर्वाचित अध्यक्षलगायतको टीमलाई बिहीबार एक कार्यक्रम गरी प्रमाणपत्र वितरण गरिने नेपाल पत्रकार महासंघ, जिल्ला निर्वाचन समितिका सदस्य ठहरबहादुर भण्डारीले जानकारी दिएका छन् ।

