बेनी
वैशाख ३०
तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि म्याग्दीमा आगामी जेठ १० गतेसम्म बन्दाबन्दी (लकडाउन) कायम गरिने भएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला सुरक्षा समितिलगायत सरोकारवालाको बैठकले यस्तो निर्णय लिएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले फैलिँदो संक्रमणलाई ‘चेनब्रेक गर्न’ बन्दाबन्दीको अवधि बढाइएको जानकारी दिए । कोरोनाको दोस्रो लहर बढ्दै जाँदा शुरुमा बेनी नगरपालिकाको सिफारिस अनुसार डिसिसिएमसी म्याग्दीले बेनी नगरपालिका क्षेत्रभित्र लागू हुने गरी वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । तर, संक्रमणको दर बढ्दै जाँदा अन्य स्थानीय तहले पनि आआफ्नै ढंगले आवागमनमा कडाइ गरेका थिए ।
“सङ्क्रमणको दर बढ्दो अवस्थामा रहेको र थप फैलन नपाओस् भनेर निषेधाज्ञाको समय थपिएको छ,” प्रमुख जिल्ला अधिकारीले भने, “थप गरिएको समयभित्र संक्रमणदर न्यूनीकरण हुने गरी काम गर्छौं ।”
संक्रमण दर बढ्दै जाँदा देशको स्वास्थ्य प्रणालीले धान्नै नसक्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै प्रजिअ अधिकारीले व्यक्ति, परिवार हुँदै टोल र समुदायस्तरमै सचेतना अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
म्याग्दीमा पछिल्लोपटक संक्रमण हुने र मृत्यु हुनेहरुको संख्या बढ्दै गएको छ । संक्रमण भएको सूचना नदिने, थाहा पाए पनि बेवास्ता गर्ने, उपचारका लागि बेलैमा अस्पताल नपुग्ने र विवाह, व्रतबन्ध, पूजा, भोजभतेर आदिमा हुने सामूहिक जमघटका कारण पनि जिल्लामा संक्रमण र मृत्युदर बढेको डिसिसिएमसी, म्याग्दीको विश्लेषण छ ।

