Notification

×

Iklan

Iklan

बेनीमा मास्क नलगाउनेलाई जरिवाना

Monday, May 3, 2021 | May 03, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

वैशाख २०


जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको प्रभू बैंकको काउण्टरमा जरिवानाको रकम जम्मा गर्नेको लाइन


कोरोना भाइरसको विश्वव्यापी दोस्रो लहरलाई रोकथाम गर्ने अभियान अन्तर्गत म्याग्दी प्रहरीले मास्कको प्रयोगलाई अनिवार्य गराउन शुरु गरेको छ । म्याग्दी सदरमुकाम बेनीमा आइतबार मास्कको प्रयोग नगरेका ६६ जनालाई जनही १ सय रुपैयाँ जरिवाना गरेर प्रहरीले साङ्केतिक कडाइ शुरु गरेको हो । यसक्रममा प्रहरीले मास्क नलगाउनेहरुलाई सदरमुकाम बेनीस्थित होल्डिङ सेन्टरमा राखेको थियो ।


सदरमुकाम बेनीस्थित जिल्ला प्रशासन कार्यालय अगाडिबाट शुरु भएको अभियानका क्रममा प्रहरीले मास्कको प्रयोग गर्न अटेर गर्र्ने, चिउँडोमा मास्क लगाउने तथा मास्क नै नलगाई हिँड्नेहरुलाई होल्डिङ सेन्टरमा राखेर सम्झाई बुझाई गर्नुका साथै जिल्ला प्रशासन कार्यालयले जनही एक सय रुपैंयाँका दरले जरिवाना गरेको हो । 


प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा बुझाएकोमा प्रशासनले सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ को उपदफा १ बमोजिम एक सय रुपैया जरिवाना गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले जानकारी दिए । “६० जना पुरुष र ६ जना महिलालाई पहिलो पटकका लागि एक सय रुपैयाँ जरिवाना गरेर छाडिएको छ,” सहायक प्रजिअ पौडेलले भने, “महामारीको परिस्थिति हेरेर प्रशासनले थप कडाइ गर्छ ।”


सदरमुकाममा होल्डिङ सेन्टर





यसैबीच कोरोनाको दोस्रो लहरलाई दृष्टिगत गर्दै सदरमुकाम बेनीको कालिपुलमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । विदेश तथा बाहिरी जिल्लाबाट जिल्ला प्रवेश गर्नेहरुलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाउन सजिलो होस भनेर होल्डिङ सेन्टर सञ्चालनमा ल्याईएको हो । जिल्ला प्रशासन कार्यालयको समन्वयमा कालीपुलस्थित पर्यटन सूचना केन्द्रलाई हालका लागि होल्डिङ सेन्टरको रुपमा प्रयोगमा ल्याइएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् ।


अधिकारीका अनुसार होल्डिङ सेन्टरमा जिल्लाका सबै स्थानीय तहका कर्मचारीहरु रहने र आ–आफ्नो स्थानीय तहमा समन्वय गरेर जिल्ला प्रवेश गर्ने नागरिकको व्यवस्थापन गर्ने गरिएको छ ।



×
Berita Terbaru Update