बेनी
असोज ९
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एसियाली सहयोग संगठन (सार्क) परिणाममुखी क्षेत्रीय सङ्गठनको रुपमा अघि बढाउनुपर्ने विचार व्यक्त गरेका छन् । बिहीबार सार्क मन्त्रीस्तरीय भर्चुअल बैठकको अध्यक्षता गर्दै मन्त्री ज्ञवालीले यस्तो आग्रह गरेका हुन् ।
सम्बोधनका क्रममा उनले सदस्य राष्ट्रहरूलाई सकेसम्म छिटो १९ औं शिखर सम्मेलन गर्ने व्यावहारिक विकल्पको खोजी गर्न र सार्कलाई नयाँ गति दिन आग्रह पनि गरेका थिए । “हामीले सार्कलाई नतिजामुखी र प्रभावकारी क्षेत्रीय संस्था बनाउन आवश्यक छ, जसले यस क्षेत्रमा जनताको जीवनमा स्पष्ट देखिने परिवर्तन ल्याउन सकोस्”, बैठकमा मन्त्री ज्ञवालीले भने ।
हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकको अवसरमा सार्क मुलुकका परराष्ट्रमन्त्रीहरूको अनौपचारिक बैठक गर्ने परम्परा रहेकोमा यसपटक महासभाको बैठक नै भर्जुअल भएका कारण परराष्ट्रमन्त्रीहरूको साइडलाइन बैठक पनि भर्चुअल नै गरिएको हो । सार्कको अध्यक्ष राष्ट्रको नाताले ज्ञवालीले बैठकको अध्यक्षता गरेका हुन् ।
बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरले भारत कनेक्टेड, एकीकृत, सुरक्षित र समृद्ध दक्षिण एसिया निर्माणका लागि प्रतिबद्ध रहेको बताए । भारत ‘छिमेकी पहिला’ परराष्ट्र नीतिको पक्षमा रहेको बताएका थिए ।
त्यसैगरी पाकिस्तानका परराष्ट्रमन्त्री शाह मोहमद कुरेशीले सार्कको १९ आंै शिखर सम्मेलन आयोजना गर्न पाकिस्तान आतुर रहेको धारणा राखेका थिए ।
सन् २०१४ मा नेपालमा सार्कको १८ औं शिखर सम्मेलन भएको थियो । हरेक दुई वर्षमा हुनुपर्ने उक्त शिखर सम्मेलन अझैसम्म हुन सकेको छैन । पाकिस्तानको राजधानी इस्लामाबादमा सार्कको १९ औं शिखर सम्मेलन हुने भनिए पनि भारत र पाकिस्तानको आपसी द्वन्द्वका कारण उक्त सम्मेलन हुन सकेको छैन ।