बेनी
माघ १२
कोरोना भाइरसविरुद्ध विकास गरिएको भ्याक्सिन ‘कोभिसिल्ड’ म्याग्दी सदरमुकाम बेनी आइपुगेको छ । गण्डकी प्रदेश, स्वास्थ्य आपूर्ति केन्द्रका कर्मचारीले सोमबार उक्त भ्याक्सिन बेनी लिएर आएका हुन् ।
गण्डकी प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निरीक्षक हिमलाल सुवेदीले म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई उक्त खोप हस्तान्तरण गरेका छन् ।
कोभिड–१९ विरुद्ध अघिल्लो पंक्तिमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्सका चालकलगायतलाई लगाउन पहिलो चरणमा ९४ भायल खोप उपलब्ध भएको जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीले जानकारी दिएको छ ।
म्याग्दीका लागि उपलब्ध खोप ९ सय ४० जनालाई दुई चरणमा लगाउन पुग्ने परिमाणको रहेको जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका परिवार नियोजन निरीक्षक नवराज सारुले जानकारी दिए ।
बेनी अस्पतालका डा. जितेन्द्र कँडेलले पहिलो खोप लगाएको चार सातामा दोस्रो खोप लगाउने प्रावधान रहेको र यसले कोरोनाविरुद्ध लड्न पर्याप्त ‘एन्टिबडी’ तयार हुने जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले आगामी माघ १४ गते कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिए ।
‘भ्याक्सिनमैत्री’ कार्यक्रमका रुपमा भारतले नेपाललगायतका दक्षिण एसियाली मुलुकलाई एकैपटक १०/१० लाख डोजका दरले ‘कोभिसिल्ड’ उपलब्ध गराएको थियो ।