बेनी
असोज २६
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले एकीकृत जडिबुटी खेती गर्ने भएको छ । जडिबुटीको व्यावसायिक उत्पादनमार्फत् ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने उद्देश्य राखिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए । नारच्याङको भू–बनोटमा कसरी जडिबुटी खेती गर्न सकिन्छ भन्नेबारे हालैमात्र प्रारम्भिक छलफल भएको जडिबुटीविज्ञ चन्द्रमणि सापकोटाले जानकारी दिए ।
“मूल्यवान् जडिबुटीको व्यावसायिक खेतीमार्फत् समाजको गरिवी र बेरोजगारी हटाउन सकिन्छ भन्नेमा म पहिल्यैदेखि विश्वस्त थिएँ,” छलफलमा सहभागी सापकोटाले भने, “अन्नपूर्ण गाउँपालिकाले जुन सोच बनाएको छ त्यसले ग्रामीण अर्थतन्त्रको सबलीकरणमा टेवा पुग्ने देखिन्छ।” सापकोटाका अनुसार अन्नपूर्ण गाउँपालिका क्षेत्रमा टिमूर, सिल्टिमूर, सतुवा, विष, बिखमा, निर्बिसी आदि जडिबुटिहरुको व्यावसायिक खेती गर्न सकिने अवस्था छ । अन्नपूर्ण क्षेत्रका सबैजसो ठाउँमा कुनै न कुनै जडिबुटी खेतीको सम्भावना रहेको भन्दै सापकोटाले गाउँपालिकाले नै यसमा चासो देखाएपछि स्थानीय पनि उत्साहित भएको अनुभव सुनाए ।
गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले विज्ञहरुको सल्लाहलाई आधार मानेर तत्कालका लागि नारच्याङमा जडिबुटी खेती गर्ने सोच बनेको जानकारी दिए । “जडिबुटीको व्यावसायिक खेतीबाट युवाहरुलाई गाउँघरमै सकृय बनाउन खोजेका छौं ।” अध्यक्ष पुनका अनुसार अन्नपूर्णमा विस्तारै एकीकृत जडिबुटी खेतीको कार्यक्रहरु अगाडि बढाइनेछ । पहिलो चरणको जडिबुटी खेतीका लागि आवश्यक जमिन तयार रहेको पनि गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको विकासको सम्भावनाबारे छलफल गर्न अध्यक्ष पुनको संयोजनमा हालैमात्र छलफल आयोजना गरिएको थियो ।
तस्विरः चन्द्रमणि सापकोटा

