बेनी
मङ्सिर १
आज यस वर्षको तिहारको भाइटीका । दाजुभाईहरुले दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका लगाउने दिन ।
यस वर्ष भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।
समितिका अनुसार कात्तिक शुक्ल पक्षको द्वितीया तिथी सोमबार बिहान ९ बजेर १२ मिनेटमा शुरु भई २ गते मङ्गलबार बिहान ७ बजेर ८ मिनेटसम्म रहनेछ । तर मध्याह्नकालमा भाइटीका लगाउनुपर्ने धर्मशास्त्रको नियम भएकाले १ गते नै साइत राखिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
यस वर्ष तिथीहरुको घटबढका कारण यमपञ्चकका पाँच दिनमा सर्वसाधारण नागरिक अलमलमा परेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले कुनै व्यक्तिले भनेको सूचनालाई विश्वास मान्नुभन्दा आधिकारिक संस्थाले भनेका कुरा ध्यान दिन सबैलाई आग्रह गरेको छ ।
