बेनी
फागुन १६
जिल्ला समन्वय समिति म्याग्दीले पाँचौं जिल्ला सभा सम्पन्न गरेको छ । शुक्रबार बेनीमा आयोजित एक कार्यक्रमबीच समितिको पाँचौं सभा सम्पन्न भएको हो ।
समन्वय प्रमुख देवेन्द्रबहादुर कटुवालको अध्यक्षतामा आयोजित सभामा गत आर्थिक वर्षमा भएका गतिविधि समेटिएको प्रगति प्रतिवेदनको प्रस्तुति, चालु आर्थिक वर्षको बजेट स्वीकृति तथा आगामी योजनाबारे छलफल गर्दै समापन भएको हो ।
जिल्लामा रहेका ६ ओटा स्थानीय सरकारका प्रमुख र उपप्रमुख सहभागी सभाले स्थानीय तहले सञ्चालन गरेका गौरवका आयोजनाको विवरण जिल्ला समन्वय समितिलाई उपलब्ध गराउने, ललितपुरस्थित मदन पुरस्कार गुठी परिसरमा राखिएको २०६० चैत ७ गते भएको बेनी आक्रमणको साक्षी बनेको बिजुलीको पोल ल्याएर संरक्षण गर्ने, जिल्लामा ढिलासुस्ती भएका विकास आयोजनाको निर्माणमा तिव्रता दिन अनुगमन एवं सहजीकरण गर्ने लगायतका निर्णय गरेको छ ।
यसका साथै बेनी–जोमसोम, बेनी–दरबाङ, गलेश्वर पिप्ले भगवती, पोखरेबगर घार चित्रे लगायत सडक आयोजना गति दिने विषयमा छलफल गरिएको थियो ।
गत आर्थिक वर्षमा समितिबाट भएका प्रमुख क्रियाकलापका बारेमा जानकारी गराउँदै निमित्त जिल्ला समन्वय अधिकारी आकांक्षा रिजालले चालु आर्थिक वर्षको लागि प्रस्तावित बजेट तथा कार्यक्रम पेश गरेकी थिइन् । सोक्रममा जिल्ला समन्वय समितिलाई चालु आ.व.मा १ करोड ३६ लाख ३९ हजार रुपैयाँ बजेट प्राप्त भएको जानकारी गराइएको थियो ।
सभामा स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरुले आफ्नो क्षेत्रमा सञ्चालित योजना, तिनको कार्यान्वयनको अवस्था र जिसससँगको समन्वयमा केन्द्रित भई आफ्ना धारणा, सुझाव र गुनासो प्रस्तुत गरेका थिए ।
