बेनी
फागुन २
२०७६ सालको मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँलाई पुरस्कार हस्तान्तरण गरिएको छ । मदन पुरस्कार गुठीले शनिबार पोखरास्थित लेखककै घरमा आएर पुरस्कार हस्तान्तरण गरेको हो । ऐतिहासिक विषयमा आधारित उपन्यास ‘महारानी’ले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।
म्याग्दीको पुलाचौरका स्थायी बासिन्दा बानियाँ पछिल्ला केही वर्षयता पोखरामा बस्दै आएका छन् । कोरोना भाइरसको महामारी (कोभिड–१९) का कारण २०७६ सालको मदन पुरस्कार घोषणा समारोह भर्चुअलरुपमा सम्पन्न भएको थियो ।
गुठीका अध्यक्ष कुन्द दीक्षितले लेखक बानियाँलाई मदन पुरस्कारस्वरुप ताम्रपत्र अर्पण गरे । स्वास्थ्यका कारण बानियाँले काठमाडौं पुग्न असमर्थता जनाएपछि गुठीले पोखरामै पुगेर पुरस्कार अर्पण गर्ने निर्णय लिएको अध्यक्ष दीक्षितको भनाइ थियो ।
पोखरामै बसेर उपन्यास सिर्जना गरेका बानियाँलाई घरमै पुगेर पुरस्कार हस्तसासन्तरण गर्न पाउँदा गुठी खुशी भएको पनि अध्यक्ष दीक्षिले बताए ।
खासगरी म्याग्दी र पर्वत इतिहासका विषयमा कलम चलाउँदै आएका बानियाँका फुटकर लेखरचनाका साथै 'महारानी', 'भौंज्याहा'लगायत चारओटा कृति प्रकाशित छन् ।
पोखराका कवि तीर्थ श्रेष्ठले विद्वत् प्रवचन प्रेषित गरेको कार्यक्रममा साहित्यकार सरुभक्तलगायतका सर्जकहरुको सहभागिता थियो ।