बेनी
फागुन १४
सरकारले राष्ट्रिय यूवा परिषद, म्याग्दीको अध्यक्षमा देवीप्रसाद शर्मा (डिपी)लाई नियुक्त गरेको छ । खेलकूद मन्त्री दावा लामाको अध्यक्षतामा यही फागुन ३ गते बसेको बैठकले शर्मालाई अध्यक्षमा मनोनयन गरेको हो । शर्मा यसअघि पनि परिषदको अध्यक्ष रहिसकेका छन् ।
परिषदको अध्यक्षमा नियुक्त भएका शर्माले पहिलो कार्यकालको अनुभवका आधारमा काम गर्ने प्रतिक्रिया दिएका छन् । “यो साता काठमाडौंमा शपथग्रहण गर्ने कार्यक्रम रहेको जानकारी आएको छ,” शर्माले भने, “नयाँ परिस्थितिमा केन्द्रको निर्देशनअनुसार कार्ययोजना बनाएर अघि बढ्छौं ।”
साविक धौलागिरीमा शर्मासहित पर्वत, बागलुङ र मुस्ताङको अध्यक्षमा क्रमशः थमनारायण पौडेल, सुमन बोहरा र कर्म नामग्याल गुरुङले नियुक्ति पाएका छन् ।
राष्ट्रिय यूवा परिषदको ७१ जिल्लामा कार्यरत अध्यक्षहरुको पदावधि सकिएकोले एकैपटक ठूलो संख्यामा नियुक्ति गरिएको परिषदले जनाएको छ ।
यसअघि तत्कालीन मन्त्री राजन केसीका पालामा मनोनयन भएका ६ जना जिल्ला अध्यक्षको पदावधि कायमै रहेकाले बाँकी जिल्लामा नयाँ अध्यक्ष मनोनयन गरिएको हो ।
मन्त्री लामा र युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलबीच छलफलपछि नियुक्तिको सूची तय भएको बताइएको छ ।
यूवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास एवं यूवाको पहुँच र सहभागिताको सुनिश्चिततामार्फत् समृद्ध राष्ट्र निर्माणको लक्ष्यसहित सरकारले राष्ट्रिय यूवा नीति–२०७१ लागू गरेको थियो । सोही नीतिका आधारमा २०७२ मा गठन भएको राष्ट्रिय यूवा परिषदले देशव्यापीरुपमा यूवालक्षित कार्यक्रम गर्दै आएको छ ।