बेनी
माघ २०
आगामी बिहीबारदेखि हिउँदे वर्षा हुने जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबरादेखि शुरु भई शनिबारसम्म देशभर मौसम बदली रही देशको अधिकांश स्थानमा वर्षा हुनेछ ।
“बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना छ,” कँडेलले भनिन्, “यो अवधिमा उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात पनि हुनेछ ।”
मौसमविद्का अनुसार यो प्रणाली बाहिरिएपछि तापक्रम वृद्धि भई गर्मी शुरु हुनेछ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
वर्षा अभावमा कृषकहरुले लगाएको हिउँदे बालीमा सिँचाइ हुन सकेको छैन । मल र बिउ समयमै नपाएका कृषकहरु हिउँदे वर्षासमेत नहुँदा उत्पादन घट्ने चिन्तामा छन् ।