बेनी
फागुन १४
उत्तरको छिमेकी चीनले गरिवीमाथि पूर्णरुपमा विजय प्राप्त गरेको घोषणा गरेको छ । राजधानीमा बेइजिङमा बिहीबार आयोजित सम्मेलनमा चिनियाँ राष्ट्रपति सि चिनफिङले गरिबी निवारणका क्षेत्रमा विजयको घोषणा गरेका हुन् ।
चीनमा कम्युनिष्ट पार्टी गठन भएको १०० वर्ष पुग्न चार महिना बाँकी रहँदा राष्ट्रपति सिको यस्तो घोषणा सार्वजनिक भएको हो । चीनले यस वर्षको मध्यसम्ममा समाजलाई सबै कुरामा सामान्य समृद्ध भएको घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ । योसँगै चीनले २०२१ मा हासिल गर्ने भनिएको लक्ष्य ‘पहिलो शताब्दी लक्ष्य’ हासिल गरेको छ । त्यस्तै चीनले दोस्रो शताब्दीको लक्ष्य २०४९ मा समृद्ध, शक्तिशाली, प्रजातान्त्रिक, सांस्कृतिक रुपमा सम्पन्न र सामाञ्जस्यपूर्ण आधुनिक सामाजवादी राष्ट्र निर्माणको लक्ष्यअनुसार काम गरिरहेको जानकारहरु बताउँछन् ।
गरिबी निवारणमा विजय हासिल गरेको घोषणा गर्दै राष्ट्रपति सिले उक्त कार्यमा महत्वपूर्ण योगदान पु¥याउने एक हजार ९८१ व्यक्ति तथा एक हजार ५०१ समूहलाई सम्मान गरेका थिए । चीनले यसबीचमा सबै ग्रामीण क्षेत्रका गरिब जनतालाई अहिलेको मापदण्ड अनुसार गरिबीबाट माथि उकासेको छ । यसमध्ये ८३२ काउन्टीहरु, एक लाख २८ हजार गाउँ र करिब १० करोड जनसंख्याको जीवनस्तर सुधार गरिएको छ ।
राष्ट्रपति सिले पूर्ण गरिबीलाई उन्मूलन गर्ने कठिनपूर्ण काममा प्राप्त सफलताले इतिहासमा नयाँ चमत्कारको कथा थपिएको बताएका छन् । २०२१ मा चीनले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकी र २०४९ मा जनगणतन्त्र चीनको शतवार्षिकी मनाउँदै छ । २०२१ लाई गरिबी निवारको घोषणा र २०४९ लाई बलियो समाजवादी राष्ट्रको रुपमा घोषणा गर्ने लक्ष्य लिएको थियो ।
संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्य अनुसार सन् २०३० मा विश्वबाट गरिवी निवारण गर्ने लक्ष्य राखिएकोमा चीनले त्यसको १० वर्ष अगावै उक्त लक्ष्य हासिल गरेको हो । चिनियाँ कम्युनिस्ट पार्टीको २०१२ मा सम्पन्न १८औं राष्ट्रिय कंग्रेसपछि प्रत्यक वर्ष चीनले एक करोड जनसंख्यालाई गरिबीबाट माथि उठाउँदै आएको छ ।
चीनले यो उपलब्धि हासिल गर्नका लागि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व, महासचिव सिको प्रतिबद्धता र पार्टीको परिचालनले सफलता हासिल गरेको क्हुन फाउन्डेशनका अध्यक्ष तथा चाइना रिफर्म फ्रेन्डसिप मेडलबाट सम्मानित अमेरिकी नागरिक रोबर्ट लोरेन्स क्हुनले बताएका छन् ।
बेइजिङ स्थित ग्रेट हल अफ पिपलमा आयोजित कार्यक्रममा गरिबी निवारणमा योगदान पु¥याउने इन्टरनेट जायन्ट अलिबाबा, तालियन वान्डा ग्रुपलगायतलाई सिले सम्झिएका थिए ।
२०१२ यता चीनले तीस लाख अधिकारीहरुलाई गरिबी निवारणका मोर्चामा गाउँगाउँमा खटाएको थियो । जसमध्ये पाँच लाख अधिकारीहरु चिनियाँ कम्युनिष्ट पार्टीका गाउँका स्तरका पहिलो सचिवहरु थिए ।
चालिस वर्ष अगाडि चीन खुला अर्थतन्त्रमा प्रवेश गरेसँगै ७७ करोड जनसंख्यालाई गरिबीबाट मुक्त गरेको छ । जुन विश्वको कुल गरिबीको ७० प्रतिशत हो ।

