बेनी
चैत ६
म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिबाङमा रहेको हेम माध्यमिक विद्यालय नमुना शैक्षिक केन्द्रका रुपमा विकास हुन थालेको छ । धवलागिरी गाउँपालिका र गण्डकी प्रदेशबाट आवश्यक बजेट र अन्य सहयोग प्राप्त हुन थालेसँगै उक्त विद्यालयमा शैक्षिक क्रियाकलाप बढ्न थालेका हुन् ।
गत वर्षमात्र नमुना विद्यालयको रुपमा छनोट भएको हेम माविमा सुविधासम्पन्न कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । यसले विद्यार्थीहरुलाई नियमित अध्ययनका साथै आधुनिक प्रविधिसँग साक्षात्कार गर्ने अवसर मिलेको छ ।
विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रा विन्दु रसाईलीले विद्यालयमै बसेर कम्युटर सिक्न पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिएकी छिन् । “पहिला यहाँ बिजुली पनि थिएन । तर, अब हामी स्कुलको कम्प्युटर ल्याबमा बसेर मजासँग अध्ययन र अभ्यास गर्न पाइरहेका छौं,” रसाईलीले भनिन् । पहिला आफुहरुले कम्युटर खोल्नसमेत नजानेको सम्झिँदै रसाईलीले कम्प्युटरको आधारभूत ज्ञान र सिप सिकेको अनुभव सुनाइन् ।
विद्यालयका कम्प्युटर शिक्षक शिव फगामीले कक्षा ६, ७ र ८ का विद्यार्थीहरुलाई कम्प्युटरको कोर्स अनुसार नै पढाइएको र त्यसभन्दा माथिल्लो तहका विद्यार्थीलाई क्षमता विकास गराउने गरी आधारभूत शिक्षण गरिएको जानकारी दिए ।
नमुना विद्यालयमा छानिएपछि कम्प्युटर ल्याब स्थापना गर्न भन्दै धवलागिरी गाउँपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही सहयोग परिचालन गरी कम्प्युटर ल्याब स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक शेरबहादुर केसीले जानकारी दिएका छन् ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने गरी गाउँपालिकाले गत वर्ष पुस्तकालय स्थापनाका लागि पनि ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको र यसबाट आवश्यक पुस्तकलगायतका शैक्षिक सामग्री खरिद गरी पुस्तकालय स्थापना गरिएको पनि प्रअ केसीले जनाएका छन् ।
म्याग्दीको सबैभन्दा दुर्गम भूगोलको प्रतिनिधित्व गर्ने धवलागिरी गाउँपालिकाको विभिन्न विद्यालयमा कम्प्युटर ल्याब र पुस्तकालय, आवश्यक शिक्षक दरबन्दीको व्यवस्था र पर्याप्त शैक्षिक सामग्रीको व्यवस्था गर्ने योजना रहेको गाउँपालिकामा शिक्षा हेर्ने जिम्मेवारी पाएका मराङका वडा अध्यक्ष राजाराम सुवेदीले बताए ।
