बेनी
फागुन २९
मिर्गौलाको समस्या भएका बिरामीलाई निशूल्करुपमा डाइलाइसिस गर्ने व्यवस्थाले म्याग्दीका बिरामीलाई राहत पुगेको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा म्याग्दीको बेनी अस्पतालमा निःशूल्क रुपमा मिर्गाैलाको डाइलाइसिस गर्ने व्यवस्था शुरु भएसँगै यसका लागि बागलुङ र पोखरा पुग्नुपर्ने समस्या हटेको हो ।
गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको पहलमा गत साउनदेखि म्याग्दीमा मिर्गाैला डायलाइसिस सेवा सञ्चालनमा आएको थियो ।
डाइलाइसिस सेवा सञ्चालन गर्न गण्डकी सरकारले चारओटा र हाल अष्टे«लियामा बस्दै आएका माधव सुवेदीको परिवारले दुईओटा मेसिन सहयोग गरेका छन् ।
अहिले मिर्गाैला डायलाइसिसका लागि चारवटा मेसिन सञ्चालन गरिएको छ ।
बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र अस्पताल व्यवस्थापन समितिको पहलमा झण्डै एक करोड रुपैयाँको लागतमा निःशूल्क डाइलाइसिस सेवा सञ्चालन गरिएको जानकारी दिए ।
खानपिनमा बेवास्ता र नियमित स्वास्थ्य जाँच नहुँदा म्याग्दीमा बर्सेनि मिर्गौलाका बिरामीको संख्या बढिरहेको पाइएको छ । जिल्लामा डाइलाइसिस सेवा नहुँदा यसअघि कास्कीको पोखरामा पुगेर उपचार गर्नुपर्ने बाध्यता थियो ।
बेनी अस्पतालका अनुसार अहिले बेनी अस्पतालमा ९ जनाले मिर्गाैला डाइलाइसिसको नियमित सेवा लिइरहेका छन् भने ५० जना बिरामीहरु सेवा लिन पालो पर्खिरहेका छन् ।
यसैगरी ३० जना मिर्गाैलापीडित बिरामीहरु सम्पर्कमा आएको बेनी अस्पतालले जनाएको छ । मिर्गाैलाडायलाइसिस सेवा सञ्चालनपछि हालसम्म १२ जनाले सेवा लिइसकेका छन् ।
बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर अमृत अधिकारीका अनुसार बिजुली नभएको बेलामा पनि उपचारमा समस्या नहोस् भनेर १० केभीए क्षमताको जेनेरेटर जडान गरिएको छ ।
मिर्गाैलापीडित बिरामीहरुलाई डाइलाइसिस सेवा प्रदान गर्न बेनी अस्पतालले २ जना डाक्टरसहित तालिम प्राप्त ६ जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ । अहिले नियमितरुपमा ३ जनाको डाइलाइसिस भैरहेको पनि बेनी अस्पतालले जनाएको छ ।
बेनी अस्पतालमा निःशूल्क डाइलाइसिस सेवा शुरु भएपछि म्याग्दीका साथै मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणसमेत लाभान्वित भएका छन् ।


