बेनी
फागुन २५
![]() |
| स्व. डा. भूपेन्द्रबहादुर खड्का |
नेपाली काँग्रेस म्याग्दीका पूर्वसभापति एवं जिल्लाका वरिष्ठ राजनीतिज्ञ डा. भूपेन्द्रबहादुर खड्काको ८० वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा अचानक समस्या आएपछि दुई दिनअघि हेलिकप्टरमार्फत् काठमाडौं पु¥याइएका खड्काको सोमबार राति सैनिक अस्पतालमा निधन भएको हो ।
छिमेकी जिल्ला बागलुङमा जन्मिएका भए पनि म्याग्दीलाई कर्मथलो बनाएका खड्का २०१४ सालदेखि विद्यार्थी आन्दोलनमा लागेको नेपाली काँग्रेस म्याग्दीले बताएको छ ।
२०३६ सालको जनमत संग्रह हुँदै काँग्रेस म्याग्दीको राजनीतिमा स्थापित बनेका खड्काले निष्ठाको राजनीति गरेको र त्यो सबैले सिक्न लायक रहेको नेपाली काँग्रेस म्याग्दीका निवर्तनमा सभापति रेशमबहादुर बानियाँले बताए ।
२०५६ सालदेखि २०६७ सालसम्म नेपाली काँग्रेस म्याग्दीको सभापति रहेका खड्काको नाम म्याग्दीको राजनीतिका अतिरिक्त चिकित्सा, शिक्षा र कानुनका क्षेत्रमा समेत स्थापित बनेको थियो ।
यसैबीच नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाले खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । खड्काको निधनबाट पार्टीले निष्ठावान् राजनीतिज्ञ र कुशल नेतृत्व गुमाएको सभापति गर्बुजाको भनाइ थियो ।
खड्काको पार्थिक शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टिमा श्रद्धाञ्जली दिन नेपाली काँग्रेसका नेताहरु रामचन्द्र पौडेल, महासचिव डा. शशाङ्क कोइराला, नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा, आफन्त र शुभेच्छुकहरु आर्यघाट पुगेका थिए ।


