बेनी
वैशाख २९
तोकिएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत सावित गर्न नसकेपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ गुरुङलाई पद तथा गोपनीयताको शपथ गराइन् ।
गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् ।
बुधबार नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भनी दावी पेश गरेका थिए । तर, जनमोर्चाका दुई जना सांसदले आफुहरु सरकार निर्माणको दौडमा नरहेको भन्दै तटस्थ बस्ने निर्णय गरेपछि गण्डकीको मुख्यमन्त्रीमा गुरुङले नै दोहोरिने मौका पाए ।
जनमोर्चाका सांसदद्वयको निर्णय बाहिर आएसँगै प्रदेश प्रमुख पौडेलले पोखरेलको दावी नपुग्ने भन्दै संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।
मुख्यमन्त्रीका रुपमा दोहोरिएसँगै गुरुङले अब एक महीनाभित्रमा प्रदेशसभामा विश्वासको मत आर्जन गर्नुपर्नेछ ।

